काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रसारणलाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई उपचारसहित १९ लाख ७८ हजार ३०१ रुपैयाँ क्षतिपूर्ति दिने भएको छ।
प्राधिकरण सञ्चालक समितिको बुधबार साँझ बसेको बैठकले कार्यक्षेत्रमा खटिएका बेला दुर्घटनामा परी घाइते भएका कर्मचारीलाई उपचार खर्च र नियमावलीबमोजिमको क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो।
मेलम्ची वितरण केन्द्रअन्तर्गत मेलम्ची नगरपालिका–१०, आम्बोटेमा कार्यरत खोटाङका २५ वर्षीय सन्देश मगर भनिने शेरबहादुर मगर प्रसारणलाइनको डिस्क पिन बदल्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए। गत ११ चैत २०८२ मा १५ केभी प्रसारणलाइनको मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो।
दुर्घटनापछि उपचारका लागि उनलाई सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो। उपचारका क्रममा ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ।
विद्युत् प्राधिकरणको विद्युत् क्षतिपूर्ति विनियमावलीअनुसार दुर्घटनामा घाइते भएका मगरलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र उपचारमा लागेको सम्पूर्ण खर्च ९ लाख ७८ हजार ३०१ रुपैयाँ गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो।
मगरले यसअघि नै १० लाख रुपैयाँ पेश्की लिइसकेका छन्। अब उपचारमा खर्च भएको बाँकी ९ लाख ७८ हजार ३०१ रुपैयाँ सम्बन्धित वितरण केन्द्रमार्फत उनलाई उपलब्ध गराउन बैठकले स्वीकृति दिएको छ।