चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भास्सिएर सडक सञ्जाल टुटेको छैटौँ दिनसम्म पनि पुनर्निर्माणको काम जारी छ। नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका ४० कर्मचारी र ९ वटा मेसिनले काम गरिरहेका छन्।
हालसम्म १२ मिटर भित्ता काटेर स्लोप निकालिएको छ। ट्र्याक निर्माण, लेभल मिलाउने र काटिएको भित्तालाई अड्याउन सिट पायल गर्ने काम भइरहेको आवासीय इन्जिनियर अशोक देवकोटाले बताए।
उनका अनुसार १३० मिटर सडक भास्सिएको क्षेत्रमा नयाँ ट्र्याक खोल्दै सडकको लम्बाइ करिब ३०० मिटर पुर्याउनुपर्नेछ। अझै ८ मिटर तलसम्म भित्ता काट्नुपर्ने र पुरानो सडकभन्दा ३ मिटर माथि हुने गरी संरचना निर्माण गर्नुपर्ने काम बाँकी छ।
माथिबाट थप पहिरो नआए दुईतर्फी यातायात सञ्चालन गर्न अझै करिब ९ दिन लाग्ने देवकोटाले बताए। निर्माणस्थलमा बिहान उज्यालो भएदेखि साँझसम्म कर्मचारी तथा मेसिन परिचालन गरिएको छ।