काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–४ नामरुङस्थित थेराङखोलामा आएको बाढीले दुईवटा पुल बगाएपछि मनास्लु र लार्केपास पदमार्गमा तत्काल पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ।
प्रशासनले आइतबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म दुवै पदमार्गमा पदयात्रा नगर्न–नगराउन सम्बन्धित सबैलाई अनुरोध गरेको हो।
प्रशासनका अनुसार २१ भदौ बिहान करिब साढे ३ बजे आएको बाढीले चुमनुब्री गाउँपालिका–४ र वडा नं। २ जोड्ने फलामे पुल तथा गाउँपालिकाबाट नामरुङ जंगल जाने बूढीगण्डकी नदीमाथिको झोलुङ्गे पुल बगाएको थियो।
पुल बगेपछि उक्त क्षेत्रको आवागमन प्रभावित हुनुका साथै पदमार्गसमेत जोखिमपूर्ण बनेको प्रशासनले जनाएको छ।
मनास्लु वा लार्केपास जाने तयारीमा रहेका तथा यात्रामा रहेका पदयात्रीलाई अर्को सूचना जारी नभएसम्म यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ। साथै, कुनै विपद्जन्य घटना वा असामान्य अवस्था सिर्जना भएमा नजिकको सुरक्षा निकाय, प्रहरी चौकी वा स्थानीय तहमा तत्काल जानकारी गराउन भनिएको छ।
सम्भावित जोखिमबाट जोगिन पदयात्री, पर्यटन व्यवसायी, पथप्रदर्शक तथा सम्बन्धित सबैलाई प्रशासनले सूचनाको पालना गर्न आग्रह गरेको छ।