सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत दैलेखको दुल्लु नगरपालिका–१० भल्लुको खोलामा खसेको पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको छ ।
मंगलबार बेलुकी पहिरो खसेर अवरुद्ध भएको सडक बुधबार बिहान पहिरो हटाएपछि १० बजेदेखि एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
पहिरोका कारण केही समय राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो । अहिले सडक एकतर्फी सञ्चालनमा आए पनि दुईतर्फी यातायात भने सहज भइसकेको छैन ।
वर्षायाममा भल्लुको खोलालगायत कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम रहेकाले चालक तथा यात्रुलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।