म्याग्दी। ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको निर्माणमा महत्वपूर्ण प्रगति भएको छ। आयोजनाअन्तर्गत धवलागिरि गाउँपालिका–४ छहरीमा रहेको अडिटदेखि बाँधतर्फ जाने सुरुङ बुधबार ‘ब्रेक थ्रु’ भएको हो।
म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाका आयोजना प्रमुख ज्योतिषकुमार केसीका अनुसार अडिटदेखि बाँधतर्फ जोडिने २ हजार ५०६ दशमलव ३९ मिटर सुरुङ छेडिएको हो।
छहरीस्थित अडिटदेखि धवलागिरि गाउँपालिका–४ खाम्लामा निर्माण भइरहेको बाँधसम्म कुल ३ हजार २८३ दशमलव ३२ मिटर सुरुङ निर्माण गर्नुपर्नेछ। त्यसमध्ये हालसम्म १ हजार ९७३ मिटर सुरुङ निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ। बाँकी सुरुङको काम पनि आगामी केही महिनाभित्र सक्ने लक्ष्यसहित निर्माण अघि बढाइएको छ।
आयोजनाको समग्र भौतिक प्रगति हाल ५६ प्रतिशत पुगेको छ। आयोजना प्रमुख केसीले बाँकी कामलाई तीव्रता दिएर आगामी एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए।
सिभिल निर्माणको जिम्मा लिएको लुना बिल्डर्स एण्ड कन्ट्रयाक्टरले २०८० चैत १९ मा सम्झौता गरेको थियो। २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको उक्त कम्पनीले सोही वर्षको भदौदेखि आयोजनाको मुख्य सुरुङ निर्माण सुरु गरेको थियो।
हाल बाँध, सुरुङ र विद्युत्गृह निर्माणसँगै हाइड्रो तथा इलेक्ट्रोमेकानिकलतर्फका कामलाई पनि तीव्रता दिइएको छ। यद्यपि बर्खायाममा निर्माणस्थलसम्म पुग्ने बेनी–दरबाङ सडकको फापरखेत पहिरो, दुखुखोला सडक पुलमा देखिएको जोखिम तथा शिवरात्रिखोला सडक पुल निर्माणमा भएको ढिलाइले आयोजनाको निर्माणमा समेत असर परेको जनाइएको छ।