काठमाडौं। काठमाडौं महानगरपालिकाले एभरेष्ट अस्पताल नयाँ बानेश्वरको फोहोर तत्कालका लागि नउठाउने भएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गरिएको अनुगमनका क्रममा स्वास्थ्य संस्थाले अबलम्बन गर्नु पर्ने मापदण्ड पालना नगरेको पाइएपछि फोहोर संकलनमा रोक लगाएको हो।
अस्पतालजन्य फोहोर व्यवस्थापन अनुगमन गर्ने क्रममा त्रुटि पाइएपछि अस्पताललाई यसअघि २०७९ वैशाख १६ गते पत्राचार गरेर ९ बुँदे सुधारका सुझाव दिइएको थियो । फोहोरको रेकर्ड राख्न, बिनहरुमा लेभल राख्न, फोहोर वर्गीकरण गर्न, बिसर्जन पूर्व संक्रमण भएको फोहोरलाई अटोक्लेभ गरेर संक्रमणरहित बनाउन, वातावरणीय अध्ययन गर्न त्यसबेला दिइएका सुझाव थिए ।
करिब २२ महिनाको अवधिमा पनि सुधारका कुनै संकेत नदेखिएको महानगरपालिकाले जनाएको छ । अस्पतालमा फोहोर वर्गीकरण गर्ने बाल्टिनको रङ्ग संकेत नभएको, ढुवानीका लागि ट्रली नभएको र फोहोर भण्डारण व्यवस्थापन नभएको जस्ता लापर्वाही देखिएपछि फोहोर संकलन कार्यमा रोक लगाइएको महानगरपालिकाले जनाएको छ ।