म्याग्दी। फोहर व्यवस्थापन जटिल समस्या हुनुपूर्व नै अन्नपूर्ण गाउँपालिकाले फोहर व्यवस्थापनको उपाय खोज्न थालेको छ । गाउँपालिकाले पालिकाभित्रको फोहरमैला व्यवस्थापनका लागि ल्यान्डफिल साइडको सम्भाव्यता अध्ययनको प्रारम्भिक काम थालेको हो।
फोहरमैलाको दिगो व्यवस्थापनका लागि पहिलो चरणको रुपमा गाउँपालिकाले बिहीबार पालिका क्षेत्रभित्रको फोहरमैला व्यवस्थापन तथा ल्याण्ड फिल साइडको सम्भाव्यता अध्ययनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।
कार्यक्रममा फोहर व्यवस्थापन तथा उचित ल्यान्डफिल साइडको सम्भाव्यताका विषयमा स्थानीय, पर्यटन व्यवसायीलगायत सरोकारवालाको राय तथा सुझाव लिइएको गाउँपालिकाले जनाएको छ। साथै फोहर व्यवस्थापनका विज्ञहरुबाट अभिमुखीकरण तालिम पनि लिइएको हो।
गाउँपालिकाका अधिकांश क्षेत्रमा पोखरा बागलुङ राजमार्ग पर्ने र सडक केन्द्रित बजार छन् । हाल बजार क्षेत्रको फोहरलाई कुहिने र नकुहिने छुट्याएर अस्थायी रुपमा गाउँपालिकाले व्यवस्थापन गर्दै आएको बताइएको छ।