धनुषा । धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा सम्झौता अवधि सकिन सात महिना बाँकी हुँदै निर्माण कम्पनीले तीन वटा पुल सम्पन्न गरेको छ ।
रसुवा निर्माण कम्पनीले ढल्केवर जनकपुर जटही सडकखण्डमा सम्झौता अवधि सकिनु अघिनै तीन वटै पुल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
ढल्केवर जनकपुर जटही सडकखण्ड ६ लेनको बनेपछि औरही खोलामा सरकारले ६ लेनको सडकलाई मिल्नेगरी तीन वटा पुल निर्माण गरेको हो । नेपाल सरकार र रसुवा कन्स्ट्रक्सन बीच २०७६ असोज ३० भएको सम्झौता अनुसार निर्माण कम्पनीले २०७८ चैत्र मसान्तमा तीन वटा पुल सरकारलाई हस्तान्तरण गर्नुपर्ने थियो ।
कम्पनीले २०७६ सालको मंसिरदेखि शुरु गरेको पुल निर्माणको काम सम्पन्न गरी अहिले पुल सवारी साधनका लागि खुला भइसकेको छ । निर्माण सम्पन्न तीन वटा पुलमध्ये दुई वटा पुल ६ लेन सडकका लागि हुन् भने एउटा पुललाई सर्विस लेनको रुपमा राखिएको छ । पुल निर्माणका लागि ७७ करोड २७ लाखको लागत लागेको कम्पनीले जनाएको छ ।
ठेक्क लिएर सम्झौता अवधिमा काम नसक्ने र अलपत्र पार्ने परिपाटी बढिरहेका बेला रसुवा निर्माण कम्पनीले अवधि सकिनुअघि नै काम पूरा गरेर सरकारलाई हस्तान्तरण गर्नु एक उदाहरणीय काम भएको स्थानीयको भनाइ छ । साँगुरो पुलबाट आवतजावतमा समस्या भइरहेका बेला यति चाँडै पुल निर्माण भएपछि अब भने आवतजावतमा सहज भएको स्थानीय र यात्रुहरुले बताएका छन् ।