काठमाडौं। काठमाडौं महानगरपालिकाले गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको फोहोर नउठाउने भएको छ। महानगरको वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको टोली अस्पतालको फोहोर संकलन केन्द्रमा पुग्दा हानिकारक फोहोर र सामान्य फोहोर एकैठाउँमा राखेको भेटेपछि फोहोर नउठाउने भएको हो।
अस्पतालले फोहोर व्यवस्थापनका लागि छुट्टै टहरा बनाए पनि फोहोर संकलन र व्यवस्थापन अभ्यास भने अनुपयुक्त पाएको विभागले जनाएको छ।
फोहोर निर्मलीकरणका लागि तीनवटा अटोक्लेभ मेसिनमध्ये दुईवटा बिग्रिए र चलेको एउटाले पनि राम्ररी काम नगरेको अवस्थामा भेटिएको वातावरण व्यवस्थापन विभागले जनाएको छ।
फोहोर व्यवस्थापन वातावरणमैत्री नभएको, काम गर्ने व्यक्तिहरू सुरक्षित हुने अवस्था नदेखिएको विभागको भनाइ छ। विभागले फोहोर निर्मलीकरण नहुन्जेलसम्म फोहोर नउठाउने जनाएको छ।