काठमाडौं। दोलखाको मेलुङ गाउँपालिका अन्तर्गत भेडपुमा खानेपानी योजना निर्माण हुने भएको छ। सो क्षेत्रमा भेडपु पोखरी सल्लेरी खानेपानी योजना निर्माण हुन लागेको हो। संघिय सरकारको करिब ८३ लाख बजेटमा सो आयोजना निर्माण हुन लागेको हो।
सो आयोजना निर्माणको लागि चालु आर्थिक वर्षमा संघिय सरकारबाट करिब ८३ लाख बजेट बिनियाजन भएको गाउँपालिकाका इञ्जिनियर कृष्ण बस्नेतले जानकारी दिएका छन्। सो आयोजना निर्माणको लागि ठेक्काको मुल्याङ्कन सकिएको र यसबाट ३ निर्माण कम्पनीहरु छनोट भएकोमा यसलाई जारी गर्नै बाँकी भएकाले कुन निर्माण कम्पनीलाई कामको जिम्मा दिने भन्ने हाल यकिन नभइसकेको उनले बताएका छन्।
लगभग १ महिनाभित्र ठेक्का सम्झौताको सबै प्रक्रिया पुरा गरी खानेपानी योजना निर्माणको कामलाई अघि बढाउने योजना रहेको इञ्जिनियर बस्नेतको भनाइ छ। सो आयोजना निर्माण आउँदो जेठसम्ममा सक्ने आयोजनाको लक्ष्य रहेको उनले बताएका छन्। निर्माण कार्य सुरु भएपछि कुनै बाँधा अवरोध नआएमा तोकिएको समयमा नै काम सक्ने उनको भनाइ छ।
त्यसैगरी उक्त खानेपानी आयोजना निर्माण भएपछि भेडपुमा रहेका १५० घरजति लाभान्वित हुने उनले बताएका छन्। साथै एक घर एक धारा अन्तर्गतको कार्यक्रम तय गरी त्यहाँ अवस्थित प्रत्यक एक घरमा एक धारा जडान गरिने उनले जानकारी दिएका छन्। खानेपानीको समस्या झेल्दै आएका भेडपुबासीको समक्ष खानेपानीको पहुँच पुर्याउने उद्देश्यले सो योजना अघि बढाइएको उनले जानकारी दिएका छन्। त्यहाँको सबै घरहरुमा खानेपानीको पहुँच पुर्याउने आयोजनाको लक्ष रहेको उनले बताएका छन्। खानेपानी आयोजना निर्माण हुने कुराले स्थानीयबासीहरु खुसी भएका छन्।