रसुवा । बाढीले पुल बगाएपछि अवरुद्ध रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के र तुइन निर्माण गरी पैदल आवागमन सञ्चालनमा ल्याइएको छ।
फलाखु खोलाको पक्की पुल बगेपछि बेत्रावतीमा बाँस तथा काठ प्रयोग गरी फड्के निर्माण गरिएको छ। यस्तै, स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथिको पुल बगेपछि फलामे तुइन जडान गरिएको हो।
सशस्त्र प्रहरीका अनुसार बेत्रावतीको फड्के निर्माणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोग रहेको छ। स्याफ्रुबेँसीको तुइन पनि सुरक्षा निकायको समन्वयमा निर्माण गरिएको हो।
फड्के र तुइन सञ्चालनमा आएपछि उत्तरी रसुवाका विभिन्न क्षेत्र तथा नुवाकोटतर्फका स्थानीयलाई आवागमनमा राहत पुगेको छ। स्थानीयले भने अस्थायी संरचनाले तत्कालको समस्या समाधान भए पनि दीर्घकालीन रूपमा बेलिब्रिज निर्माण गर्न माग गरेका छन्।