काठमाडौँ । भारतले नेपाललाई दैनिक अधिकतम ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ। भारतको ऊर्जा मन्त्रालयले विज्ञप्ति जारी गर्दै सेप्टेम्बर १३ देखि डिसेम्बर ३१, २०२६ सम्म नेपाललाई विद्युत् निर्यात गर्ने निर्णय भएको जनाएको हो।
भारतका अनुसार राति १२ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उपलब्ध गराइनेछ। यसमध्ये मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनबाट ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनबाट ५४ मेगावाट विद्युत् आपूर्ति गरिनेछ।
सन् २०२७ जनवरीदेखि हुने विद्युत् निर्यातको भने सन् २०२६ डिसेम्बरमा समीक्षा गरिने भारतले जनाएको छ।
यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले नेपालका जलविद्युत् आयोजनाका पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। यस्तो कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्य थप सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।