चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर अवरुद्ध सडक खुलाउन निर्माण गरिएको नयाँ ट्र्याक अन्तिम चरणमा पुगेको छ। आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सकेर परीक्षणका रूपमा केही सवारीसाधन सञ्चालन गरिएको थियो।
नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको कम्पनीका इञ्जिनियर ईश्वर नेपालका अनुसार अहिले ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माण भइरहेको छ। सम्भवतः असोज १ गतेदेखि नियमित यातायात सञ्चालन गर्ने गरी काम भइरहेको उनले बताए।
करिब ३०० मिटर लामो नयाँ ट्र्याकमा सात मिटर चौडा सडक र नालीसहित करिब साढे सात मिटरको संरचना बनाइएको छ। हाल ४०–५० जना मजदुर तथा ग्रेडर, रोलर र एक्साभेटरसहित पाँच–छ वटा हेभी उपकरण परिचालन गरिएको छ।
नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रले आइतबार केही सवारीसाधन परीक्षणका लागि मात्रै सञ्चालन गरिएको बताए। उनका अनुसार नयाँ ट्र्याकमा हाल नियमित यातायात खुला गरिएको छैन। थप पहिरो नआए असोज १ गतेसम्म निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्ने योजना छ।