काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीले सडक र पुल बगाएपछि बन्द रहेको नुवाकोटको त्रिशूली–रसुवागढी सडकमार्ग पुनः सञ्चालनका लागि सरकारले पहिलो प्राथमिकता स्याफ्रुबेसीसम्म सडक पुर्याउने बनाएको छ।
बाढीले त्रिशूली–वेत्रावती सडक, पुल तथा रसुवागढीसम्मका पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द छ।
पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार वेत्रावतीमा ७५ मिटरको बेलिब्रिज निर्माण गरी सडकको नयाँ ट्र्याक खोल्ने तयारी भइरहेको छ। त्यसपछि धुन्चे हुँदै १२ घुम्ती पुगेर भोटेकोसीमा ७५ देखि १०० मिटरको बेलिब्रिज राखी स्याफ्रुबेसीसम्म सडक सञ्चालन गर्ने योजना छ।
स्याफ्रुबेसीदेखि रसुवागढीसम्मको करिब १८ किलोमिटर सडक भने पूर्ण रूपमा क्षतिग्रस्त भएकाले सरकारले पुनर्निर्माणका लागि चीनसँग सहयोग मागेको छ।
रसुवागढी नाका सञ्चालनका लागि सडकसँगै भन्सार, सुक्खा बन्दरगाहलगायतका पूर्वाधार पनि पुनर्निर्माण गर्नुपर्ने भएकाले तत्काल नाका सञ्चालनमा ल्याउन कठिन रहेको सरकारले जनाएको छ।