धादिङ । भोटेकोशी नदीमा आएको भीषण बाढीले त्रिशूली नदी आसपासका झोलुङ्गे पुलमा क्षति पुर्याएपछि सरकारले मर्मत तथा पुनर्निर्माण अघि बढाएको छ। पुल क्षतिग्रस्त हुँदा नुवाकोट र धादिङका स्थानीयको दैनिक आवतजावत, बजार, विद्यालय तथा स्वास्थ्य सेवामा पहुँच प्रभावित भएको छ।
सरकारका अनुसार मुग्लिङदेखि टिमुरेसम्मका ६४ झोलुङ्गे पुलमध्ये ५३ वटा क्षतिग्रस्त भएका छन्। प्रारम्भिक मूल्याङ्कनमा २० वटा मर्मत र ३३ वटा पुनर्निर्माण गर्नुपर्ने देखिएको छ।
मर्मत सुरु भएका महेश दोभान–मास्टार, कालिकाथान, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोला झोलुङ्गे पुलको काम एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सरकारले भदौ १७ गते मर्मतका लागि कार्यादेश जारी गरेको थियो।
त्यस्तै, पुनर्निर्माण गर्नुपर्ने ३३ पुलका लागि पनि भदौ १७ मै बोलपत्र आह्वान गरिएको छ। पुल सञ्चालनमा आएपछि बाढीका कारण विच्छेद भएका ग्रामीण बस्ती र बजार क्षेत्रबीचको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।