काठमाडौं । भोटेकोशीमा आएको बाढीले सवारी साधन तथा यातायात क्षेत्रमा १२ अर्ब ९० करोड २५ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुर्याएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनअनुसार रसुवागढी भन्सार र गल्छी–बेत्रावती–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा रहेका तथा गुडिरहेका सवारी साधन बाढी र गेग्रानमा पुरिएका वा बगेका छन्।
चीनबाट आयात गरिएका विद्युतीय सामग्री, सवारी साधन, तयारी पोसाक, जुत्ता–चप्पल तथा औद्योगिक उपकरण बोकेका ट्रक र कन्टेनरमा ठूलो क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।
बाढीका कारण सडक सञ्जाल विच्छेद हुँदा ढुवानी तथा यातायात व्यवसायमा थप ३१ करोड ४५ लाख रुपैयाँ आर्थिक नोक्सानी भएको छ। घटनाबाट कम्तीमा ८७ वटा यातायात व्यवसाय तथा प्रतिष्ठान प्रत्यक्ष प्रभावित भएका छन्।