इलाम । माङसेबुङ गाउँपालिका–३ भञ्ज्याङमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको पूर्ण कदको सालिक निर्माण सुरु भएको छ। किरात धर्म, भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा सामाजिक सुधारमा फाल्गुनन्दले पुर्याएको योगदानको स्मरणमा सालिक निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष हेमन्त राईका अनुसार फाल्गुनन्दको जन्मस्थल माङसेबुङलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्य बनाउने योजनाअनुसार सालिकसहितको पार्क निर्माण भइरहेको हो।
तीन रोपनी दुई आना क्षेत्रफलमा निर्माण भइरहेको सालिक २५ फिट अग्लो र आठ फिट चौडा हुनेछ। परिसरमा मुख्य सालिकसँगै आठवटा साना सालिक, विश्रामस्थल, काठेपिङ तथा च्याब्रुङ र साकेलालगायत सांस्कृतिक कार्यक्रमका लागि संरचना निर्माण गरिनेछ।
सालिक निर्माणका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले ३६ लाख रुपैयाँ विनियोजन गरेको छ। यसअघि २५ लाख रुपैयाँबाट आधार तथा स्थल व्यवस्थापन गरिएको थियो। निर्माणाधीन सालिक विश्वमै फाल्गुनन्दका सालिकमध्ये सबैभन्दा ठूलो हुने दाबी गाउँपालिकाको छ।