मोरङ । विराटनगर महानगरपालिकामा आकाशे पुल बनाउने योजना बनेको तीन वर्ष बितिसक्दा पनि पुल बन्न सकेको छैन । महानगरपालिकाको कोशी राजमार्गका विभिन्न तीन स्थानमा आकाशे पुल बनाउने योजना चर्चामा आएको झण्डै तीन वर्ष बित्ता पनि पुल बन्न नसकेको हो ।
सम्बन्धित निकायको समन्वयकारी भुमिकाको अभाव तथा स्थान सुनिश्चित नगरि योजना कार्यान्वयन गर्न खोज्दा झण्डै साढे २ करोड रुपैयाँको योजना अलपत्र परेको छ ।
योजना बनेपछि आकाशे पुलको डिजाईन गरि ठेक्का समेत लगाइएको थियो तर हालसम्म पुल निर्माणले पुर्णता पाउन सकेको छैन ।
महानगरपालिकाले आकाशे पुल निर्माणका लागि भन्दै २०७६ साल फागुन १६ गते टेण्डर निकालेको थियो । त्यसको झण्डै एक वर्षपछि अर्थात् २०७७ माघ २८ गते मात्र महानगरले ढिलागरि ठेकेदारहरुको टेण्डर स्वीकृत गरेको थियो । त्यसमध्ये बरगाछी समेतको दुई स्थानमा आकाशे पुल निर्माणको ठेक्का विराटनगर १२ को कला बिल्डर्सले पाएको छ भने कञ्चनबाडी चोकमा आरके बिल्र्डसले पाएको छ ।
महानगरले तीनवटै पुलकालागि २ करोड ४७ लाख रुपैयाँमा ठेक्का लगाएको छ । पुल निर्माण गर्न लागि जग्गा धनीहरुसँग समन्वय नगरी त्यहाँ निर्माण गर्न खोजिएपछि सम्बन्धित जग्गा धनीहरुले निर्माण रोक्न महानगरमा निवेदन दिएपछि काम रोकिएको कला बिल्र्डसका प्रोपाइटर सञ्जय यादवले जानकारी दिए ।