काठमाडौं । कलंकीमा रहेको नेपाल नेशनल हस्पिटलले जोखिमपूर्ण फोहोर व्यवस्थापनमा लापबाही गरेको भन्दै काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तिराएको छ । महानगरपालिकाले पटक पटक अनुगमन गरेर सुधारको मौका दिँदा पनि अस्पतालजन्य फोहोर व्यवस्थापन नगरेपछि एक लाख जरिवाना तिराएको हो ।
अस्पतालको फोहोरले असर गरेको भन्दै स्थानीयले उजुरी दिएपछि गत चैत २० गते महानगरले फेरि अनुगमन गरेको थियो । उक्त अनुगमनका क्रममा फोहोर व्यवस्थापनमा लापर्बाही देखिएको भन्दै महानगरले एक लाख जरिवानाको पत्र पठाइएको र अस्पतालले चैत २९ गते उक्त रकम बुझाएको हो ।
फोहोरलाई स्रोतमा वर्गीकरण नगर्नु, वर्गीकरण गरिएको फोहरको संकलन कक्षसम्म सुरक्षित ढुवानी नहुनु, ढुवानी गरेर भण्डारण कक्षमा लगेपछि मात्र जोखिमयुक्त फोहोर वर्गीकरण गर्न थाल्नु, जोखिमयुक्त फोहोर निर्मलीकरण गरेपछि वर्गीकरण नगर्नु, प्रकृतिअनुसार भण्डारण उपयुक्त नहुनु, निर्मलीकरणका साधन तथा उपकरण नहुनु, भएकाहरुको पनि उचित प्रयोग नहुनु हस्पिटलका लापर्बाही भएको महानगरको भनाइ छ ।
महानगरपालिकाका वातावरण निरीक्षक सृष्टि श्रेष्ठ भन्छिन्, ‘सुधारको अवसर उपयोग नगरेपछि काठमाडौं महानगरपालिकाले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ को (ट) र (ठ) बमोजिम जरिवाना गरेका हौँ ।’