काठमाडौं । काठमाडौं महानगरपालिकाले घरेलु फोहोरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री गर्न करसहित वार्षिक ६ करोड ८ लाख ७२ हजार ३७१ रुपैयाँमा आय ठेक्का लगाएको छ । महानगरपालिकालाई ७ क्षेत्रमा विभाजन गरेर हरेक खण्डको छुट्टाछुट्टै प्रतिस्पर्धाबाट आय ठेक्का लगाइएको हो ।
यी स्थानमध्ये क्षेत्र नम्बर ७ को मटेरियल रिकभरी सुविधा सञ्चालनमा आइसकेको इञ्जिनियर रामप्रसाद नेपालले जानकारी दिए । अन्य क्षेत्रमा क्रमशः सञ्चालन गर्दै लैजाने विभागको तयारी रहेको उनको भनाइ छ ।
क्षेत्र नम्बर ७ बाट २०८२ बैशाख महिनाभरिमा १ लाख १ हजार ३५५ किलोग्राम सुक्खा फोहर संकलन भएको छ । यस क्षेत्रमा वडा नम्बर १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी १० वटा वडा छन् । सुक्खा फोहोर मटेरियल रिकभरी फ्यासिलिटीमार्फत जम्मा गरिन्छ । बैशाख महिनाको विवरण हेर्दा सबैभन्दा धेरै संकलन भएको दिन ३ हजार ८२७ किलोग्राम र सबैभन्दा कम भएका दिन २ हजार ५३४ किलोग्राम फोहोर जम्मा भएको देखिन्छ । यस क्षेत्रबाट दैनिक साढे ४३ मेट्रिक टन सुक्खा फोहोर संकलन हुने अनुमान गरिएको छ ।
चैत महिनामा ११ गतेदेखि फोहर संकलन थालिएको थियो । त्यस दिन १ हजार ३७७ किलाग्राम फोहर संकलन गरिएको थियो । त्यस महिना सबैभन्दा बढी ४ हजार ५ सय किलोग्राम संकलन भएको थियो । यस महिनामा ६० हजार ६६० किलोग्राम फोहर जम्मा भयो । यो क्षेत्रका लागि ग्लोरियस मल्टीपर्पोज एण्ड सप्लाइजले ६२ लाख रुपैयाँमा वार्षिक कबोल गरेको छ ।
घरेलु फोहरलाई व्यवस्थित बिसर्जन गर्न ३२ वटा वडालाई ७ क्षेत्रमा विभाजन गरिएको छ । ती हरेक क्षेत्रमा एक एक वटा फोहरमैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहोर व्यवस्थापनका लागि मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्न महानगरपालिकाले आय ठेक्का कार्यविधि २०७९ बमोजिम सार्वजनिक सूचनाबाट आव्हान गरेको थियो ।