काठमाडौं। सरकारले फोहोर व्यवस्थापनका लागि सिसडोल र बञ्चरेडाँडा स्यानेटरी ल्याण्डफिल साइटको विकल्प अध्ययन गर्ने भएको छ ।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रिय सभाको मंगलवारको बैठकमा मन्त्रालयसँग सम्बन्धी मौखिक प्रश्नको जवाफ दिँदै यस्तो जानकारी दिएका हुन् ।
उनले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको लागि निर्माण गरिएको सेनेटरी ल्याण्डफिल साइटसहितको पूर्वाधार कार्य महानगरलाई हस्तान्तरण गरिएको समेत बताए।
उनका अनुसार सहरी विकास तथा भवन निर्माण विभागमार्फत करिब ४० मिटर उचाइको बारमध्ये हाल २५ मिटर उचाइको बारसहित सम्पूर्ण भौतिक संरचना निर्माण कार्य पूरा भई सञ्चालनको लागि काठमाडौं महानगरलाई उपलब्ध गराइएको छ । त्यसको उचाइ बढाउन खरिद प्रक्रिया अगाडि बढेको उनको भनाइ छ ।
मन्त्री सिंहले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रयोगमा रहेका सिसडोल र बञ्चरेडाँडा स्यानेटरी ल्याण्डफिल साइटका विकल्पको अध्ययन गर्ने, सिसडोल क्षेत्रमा देखिएका समस्या समाधान गर्ने र स्थानीय माग सम्बोधन गर्नेतर्फ मन्त्रालय निरन्तर सक्रिय रहेको दाबी गरे । उनले बञ्चरेडाँडामा फोहोर व्यवस्थापनलाई वैज्ञानिक ढङ्गले अघि बढाउन महानगरपालिकासँग सहकार्य भइरहेको समेत बताए ।