काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन वातावरण व्यवस्थापन विभागका अधिकारीलाई निर्देशन दिएकी छिन् ।
कार्यवाहक डङ्गोलले स्रोतमा फोहर वर्गीकरण गर्ने, वर्गीकृत फोहरलाई छुट्टै सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापन गर्ने क्रममा प्रयोग गरिएका अभ्यासलाई निरन्तरता दिन र प्राप्त उपलब्धिमा ह्रास आउन नदिनेगरी कार्य सञ्चालन गर्न वातावरण व्यवस्थापन विभागका अधिकारीहरूलाई निर्देशन दिएकी हुन् ।
विभागहरूले अहिलेसम्म गरेका कामको नतिजाका बारेमा जानकारी लिने क्रममा बिहीबार वातावरण व्यवस्थापन विभागका अधिकारीहरूसँग छलफल गर्दै उनले यस्तो बताएकी हुन्। “कामलाई सहज बनाउन नीतिगत रूपमा गर्नुपर्ने केही काम छन् भने म त्यसमा सहजीकरण गर्नेछु । सहरी स्वच्छता, सरसफाइ र वातावरणीय सुधारमा हामीले प्रयोग गरेका असल अभ्यास, परिचालन गरेका जनशक्ति, साधन र उपकरणको क्षमतामा कमी आउनु हुँदैन”, उनले अधिकारीहरूसँग भनिन् ।
“नीति, प्रविधि, समन्वय, सहकार्य र उत्तरदायित्वजस्ता धेरै पक्षको संयोजनले उत्पादित फोहर व्यवस्थापनमा दिगोपना प्राप्त गर्न सकिन्छ । यसकारण कामपाभित्रको फोहरको प्रकृति, स्रोतमा वर्गीकरण, सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापनसँगै ल्याण्डफिल साइटको उपयोग, यससँग स्थानीय तथा अन्य पालिकाको सम्बन्ध, अन्तर सरकार सम्बन्धित कार्यक्रम लेखाजोखा गरौँ । तथ्य विश्लेषण गरौँ । यसका आधारमा कार्यक्रमलाई व्यावहारिक र वैज्ञानिक बनाउँदै लैजानुपर्छ”, उनले भनिन्।
छलफलमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले सहरमा फोहर सङ्कलन गर्ने, ढुवानी गर्ने तथा अन्तिम व्यवस्थापन गर्ने अभ्यासलाई थप प्रभावकारी बनाउँदै लान आवश्यक रहेको बताए। त्यस क्रममा कामपा वातावरण विभागका प्रमुख सरिता राईले विभागका नियमित र आकस्मिक कामका बारेमा जानकारी गराउँदै कामलाई प्रविधिमा जोड्दै लगेर नतिजा दिने विभागका कार्यक्रम समेत सुनाइन्।