ललितपुर । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ–हेटौँडा आवागमनको वैकल्पिक मार्ग बनेको कान्ति लोकपथमा मालवाहक सवारीसाधनको चाप बढेको छ।
धादिङको कृष्णभीरमा त्रिशूली नदीको बाढीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा हेटौँडाबाट मालवाहक तथा यात्रुवाहक सवारी त्रिभुवन राजपथ हुँदै काठमाडौँ भित्रिने र खाली मालवाहक सवारी कान्ति लोकपथ हुँदै हेटौँडा जाने व्यवस्था गरिएको छ।
सवारी चाप बढेसँगै कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो, साँघुरो सडक र एकतर्फी ट्र्याकका कारण आवागमन प्रभावित भएको छ। भालुखोला, कार्कीबास, काल्चे, भान्सेखोला, पाङ्दुर र तामाखानी क्षेत्रमा मुख्य समस्या देखिएको छ।
ट्राफिक प्रहरीले सडकमा २४ घण्टा हेभी इक्विपमेन्ट तयारी अवस्थामा राख्नुका साथै विभिन्न स्थानमा थप जनशक्ति परिचालन गरेको जनाएको छ। बाढीअघि दैनिक करिब एक सय सवारी गुड्ने सडकमा अहिले दैनिक १ हजारदेखि १ हजार ५ सयसम्म सवारी गुड्न थालेका छन्।