काभ्रेपलाञ्चोक । अविरल वर्षापछि रोशी खोलाले बगाएको बीपी राजमार्गका विभिन्न स्थानमा अस्थायी डाइभर्सन निर्माण सुरु गरिएको छ।
सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार वर्षाका कारण नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को घुमाउने तथा रोशी–११ र १२ का तीन स्थानमा निर्माण गरिएका डाइभर्सन बगेका थिए।
यातायात सञ्चालन सहज बनाउने उद्देश्यले कार्यालयले तत्काल अस्थायी डाइभर्सन पुनर्निर्माणको काम अघि बढाएको जनाएको छ।
त्यस्तै, बीपी राजमार्गअन्तर्गत रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी–११ को माम्तीमा पहिरो पन्छाउने काम भइरहेको योगेशले जानकारी दिए।
अविरल वर्षाका कारण नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म बीपी राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन अलपत्र परेका छन्।