निरन्तरको वर्षासँगै देशका विभिन्न राष्ट्रिय राजमार्ग तथा मुख्य सडक खण्डमा बाढीपहिरोले यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति राजमार्गसहित सात राष्ट्रिय राजमार्गमा यातायात पूर्णरुपमा अवरुद्ध छ। पूर्व–पश्चिम राजमार्गसहित छ सडक खण्डमा भने एकतर्फी वा आंशिक रूपमा यातायात सञ्चालन भइरहेको छ।
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीर, तिङ्ग्राङखानी, बाङ्गे र चालिसेमा पहिरोले सडक बन्द छ। नारायणघाट–मुग्लिन सडकको नाम्सी खोला पुलमा पनि पहिरो खसेको छ। बीपी राजमार्गका विभिन्न स्थानमा डाइभर्सन बग्दा यातायात ठप्प छ। कान्ति, राप्ती र बेँसीसहर–चामे सडक पनि बन्द छन्। अन्य सडकमा पहिरो र ढलेका रुख हटाएर एकतर्फी यातायात सञ्चालनको प्रयास भइरहेको विभागले जनाएको छ।