चितवन । त्रिशूली नदीमा आएको बाढीका कारण चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ। निरन्तरको वर्षासँगै नदीको बहाव बढेपछि आइतबार सडक भासिएको हो।
गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार जोड्ने झोलुङ्गे पुलमा त्रिशूली नदीले लगातार प्रहार गरेपछि केबलकारको गेटदेखि भित्रतर्फको सडकमा क्षति पुगेको हो।
इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्र उप्रेतीका अनुसार वर्षासँगै नदीले धार परिवर्तन गर्दा मुख्य राजमार्गसमेत चर्किएको छ। झोलुङ्गे पुलमा नदीको बहावले निरन्तर प्रहार गरिरहेका कारण भित्री सडक भासिएको उनले जानकारी दिए।
सडक भासिएपछि मनकामना केबलकार सेवा बन्द गरिएको छ। नदीको बहाव अझै नरोकिएकाले पुल तथा आसपासका क्षेत्रमा थप जोखिम बढेको वडाध्यक्ष उप्रेतीले बताए। प्रभावित क्षेत्रमा सम्भावित क्षति रोक्न आवश्यक सतर्कता अपनाइएको छ।