काठमाडौं । अविरल वर्षासँगै पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड खुलाउन १० वटा हेभी इक्विपमेन्ट परिचालन गरिएको छ।
विपद् व्यवस्थापन टोली र सडक डिभिजन कार्यालयको समन्वयमा डोजर, एक्साभेटर तथा लोडर प्रयोग गरी लेदो, ढुङ्गा र माटो पन्छाउने काम भइरहेको छ।
मलेखुदेखि मुग्लिङसम्म विभिन्न स्थानमा ठूलो पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन बाटोमै रोकिएका थिए। निरन्तरको वर्षा र माथिबाट ढुङ्गा खस्ने जोखिमबीच पनि सडक खुलाउने काम भइरहेको प्रशासनले जनाएको छ।
पहिलो चरणमा सडकलाई एकतर्फी भए पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। प्रशासनले पहिरोको जोखिम रहेका सडकमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न आग्रह गरेको छ।