ललितपुर । ललितपुर महानगरपालिका–२४ धापाखेलमा पहिरोका कारण साढे दुईतले घर ढलेको छ।
सोमबार बिहान सोवितकुमार थापाको घर पहिरोका कारण ढलेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए। उनका अनुसार घरभन्दा तलको जमिन गलेर पहिरो गएपछि घर ढलेको हो।
असोज ९ गतेदेखि परेको लगातार वर्षाका कारण जमिन गलेपछि घर जोखिममा परेको थियो। जोखिम आकलन गरी घरमा बस्दै आएको परिवारलाई अघिल्लो दिन नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।
आइतबार साँझदेखि वर्षा रोकिए पनि लगातारको वर्षाका कारण कमजोर बनेको जमिनमा पहिरो जाने क्रम देखिएको प्रहरीले जनाएको छ।