हुम्ला । तीन दिनदेखि लगातार परेको वर्षासँगै हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा भारी हिमपात भएको छ। हिमपातका कारण नाम्खा–६ को न्यालु लेक र वडा नम्बर ५ को नारा लेक सडक बन्द भएका छन्।
हिमपातपछि वडा नम्बर ६ अन्तर्गत लिमीका तिल, जाँङ र हल्जीमा आउजाउसमेत बन्द भएको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए। उनका अनुसार यसपटक करिब तीन फिटसम्म हिउँ जमेको छ।
हिमपातले खेतबारीमा लगाइएको तरकारीलगायतका खेती ढाकिएको छ। वनमा रहेका चौँरीसमेत घर ल्याउन नसकिएको वडाध्यक्ष तामाङले बताए। पहिरोको जोखिमका कारण स्थानीयवासी सामुदायिक भवनमा सुरक्षित भएर बसेका छन्।
न्यालु लेक बन्द भएपछि लिमी–लाप्चाबाट मानसरोवर–कैलाश दर्शनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत समस्या भएको छ।