काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बनेको बीपी राजमार्गमा मंगलबार बिहानदेखि आंशिक रूपमा सवारीसाधन सञ्चालनमा आएका छन्।
बाढीले बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण तथा विभिन्न खण्डमा खसेको पहिरो पन्छाएपछि साना सवारी चल्न थालेका डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
डिभिजन प्रमुख सुमन योगेशका अनुसार रोशी क्षेत्रको चौकीडाँडामा खोलाको बहाव उच्च रहेकाले किनारमा तत्काल डाइभर्सन बनाउन नसकिएपछि खानेपानी पम्प हाउस रहेको भित्री ‘ट्रयाक’ खोलेर सवारी सञ्चालन गरिएको हो। खोलाको बहाव घटेपछि चौकीडाँडामा किनारबाटै पुनः डाइभर्सन निर्माण गरिने उनले बताए।
रोशी खोलाको बाढीले चौकीडाँडा, कटुञ्जे, पिप्ले र माम्ती क्षेत्रमा अस्थायी डाइभर्सन बगाएको थियो। दाउन्ने–कालोपुल र चारसयबेँसीमा पहिरो खसेपछि पनि सडक अवरुद्ध बनेको थियो।
हाल जोखिमयुक्त स्थानमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ। ती स्थानमा दुईतर्फी यातायात सञ्चालनका लागि काम भइरहेको कार्यालयले जनाएको छ।