काठमाडौँ । उपत्यकामा लामो समयदेखि थुप्रिएको फोहोर आजदेखि नियमित उठ्ने र उठेको फोहोर पाँच-छ दिनपछि बन्चरे डाँडामा फालिने भएको छ । शहरी विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माका अनुसार आजदेखि उठाएको फोहोर नुवाकोटको सिसडोलमा फालिने भएको हो ।
उहाँको अनुसार बन्चरे डाँडाको ल्याण्डफिल साइटको निर्माणको काम नसकिएकाले त्यहाँ फोहोर फाल्न अझै पाँच–छ दिन लाग्छ । फोहोर फाल्दै बाँकी काम गर्न मिल्ने भयकोले अबको पाँच–छ दिनमा यहाँ फोहोर आउँछ भनि उहाँले भन्नुभयो ।
काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले विभिन्न निकायसँग निरन्तर छलफल गरी हिजो फोहोर उठाउने निर्णय गरेको थियो ।
काठमाडौँ महानगरपालिकासँगको समन्वयमा सिसडोलसम्म जाने बाटो सडक विभागले तत्काल व्यवस्थापन गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्थानीयले अवरोध गरे बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्ने बताउनुभयो ।