विराटनगर। मीरगंज पुल निर्माणमा ढिला भएको छ। पुलको निर्माण कार्य ढिलाइ भएको भन्दै मोरङ व्यापार संघका उद्योगी व्यवसायीहरुको टोलीले शनिवार मिरगंज पुल निर्माणको अनुगमन गरेको हो।
अनुगमनका क्रममा एकातिर नयाँ पुल निर्माणमा ढिलाई भइरहेको पाइएको छ भने अर्कोतिर अनुमति नपाउँदा एक महिनादेखि भासिएको पुल मर्मत गर्ने कार्य शुरु हुन सकेको छैन।
करिब एक महिना अगाडि विराटनगर भंसार नाकाको मुख्य मार्गमा पर्ने बिहार बथनाहाको मीरगंज पुल भासिएको भन्दै भारतियले आयात निर्यातमा रोक लगाएको थियो।
उक्त पुल भासिएपछी करिब १ सय १० किलोमिटर घुमाउरो बाटो भएर आयात निर्यात हुँदा सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगहरुलाई दैनिक लाखौ रुपैया घाटा भईरहेको उद्योगीहरुले बताएका छन्।
भासिएको मीरगंज पुल उत्तर तर्फ नयाँ पुल बन्दै गरेको भएपनि नेपाल सरकार तर्फबाट पहल नहुँदा निर्माणमा ढिलाई भईरहेको बताइएको छ।
मीरगंज पुल भएर आयात निर्यात रोकिदा विराटनगर भंसार कार्यालयको भंसार राजस्व संकलन समेत प्रभावित बनेको छ।
नेपाल तर्फबाट पहल नगरेको र भारतिय पक्षले वेवास्ता गरेका कारण एक महिना पुग्दा समेत उक्त रुट अझै सुचारु हुन सकेको छैन। जसले गर्दा सर्वसाधारणले सास्ती भोग्नु परेको छ।