पर्वत। हिमालपारिको जिल्ला मुस्ताङलाई सडक मार्गबाट जोड्ने एक मात्र सडक कालीगण्डकी करिडोर दैनिक चार घण्टा बन्द हुने भएको छ। आगामी फागुन १ देखि फागुन १५ गतेसम्म सडक दैनिक बन्द हुने भएको हो।
करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएका कारण बन्द गर्न लागिएको बताइएको छ। जिल्ला सुरक्षा समितिको निर्णयले उक्त सडक बन्द गर्ने भएको हो।
थासाङ गाउँपालिका–४ मा रहेका काभ्रे र बादरजुङ भीरको कडा चट्टानलाई नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक अवरुद्ध हुने भएको हो।
फागुन १ देखि १५ गतेसम्म विस्फोटक पदार्थको प्रयोग गरेर काभ्रे र बादरजुङको कडा चट्टान फुटाउनुपर्ने भएको छ। यो अवधिमा बिहान १० देखि दिउँसो ४ बजेसम्म सबै प्रकारका सवारीसाधनहरू अवरुद्ध हुने छन्।