काठमाडौं। महाशिवरात्रि पर्वका अवसरमा सुरु गरिएको काठमाडौँ उपत्यकाका सम्पदा सफाइ अभियानको २३ दिने कार्यक्रम बुधबार सम्पन्न भएको छ। अभियानको अन्तिम दिन बुधबार भद्रकाली मन्दिर परिसर सफाइ गरी कार्यक्रम समापन गरिएको हो।
सम्पदा सफाइ अभियानका क्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका दरबार क्षेत्र, मध्यपुरथिमी नगरपालिकाका सम्पदा क्षेत्र गरी २५ सम्पदास्थलमा सफाइ गरिएको अभियानकर्मीहरुले बताएका छन्।
सफाइमा स्थानीयवासी, वाग्मती एवं काठमाडौँ उपत्यकामा सञ्चालित अन्य सरसफाइ अभियानकर्मी, निजामती कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, सामाजिक अभियानकर्मीलगायतको सक्रियता थियो।
सरसफाइका क्रममा वरिपरिका स्थानीयवासीलगायत उपस्थित सबैलाई गुर्जोको महत्व प्रकाश पार्दै गुर्जो चियासमेत सेवन गराइएको थियो। उपस्थित सफाइ अभियानकर्मीलाई गुर्जोलगायत ६० प्रकारका जडीबुटीबाट बनाइएको चिया र धुलोका पोकासमेत निःशुल्क वितरण गरिएको थियो।