काठमाडौं। बुटवल–सैनामैनाको साझेदारीमा फोहोर प्रशोधन केन्द्र निर्माण हुने भएको छ। खासगरी बुटवल–सैनामैनामा शून्य फोहोरको अवधारणाका साथ यस्तो नमुना कामको थालनी भएको हो।
अबको केही महिनामै अन्तरपालिका स्तरको फोहोर प्रशोधन केन्द्र स्थापना हुनेछ। यसका लागि डीपीआर बनाएर काम भइरहेको बताइएको छ।
छिमेकका अरु पालिकासमेत समेटेर एकीकृत प्रशोधन केन्द्र निर्माण गर्ने प्रक्रिया अगाडि बढेको छ। केन्द्रमा फोहोरको प्रकृति अलग–अलग गरेर प्रशोधन गर्ने, मल निकाल्ने, बायोग्यास निकाल्नेलगायतका प्लान्ट जडान गरिनेछन्। यस्का लागि जग्गाको व्यवस्था भइसकेको छ। उक्त जग्गामा प्राविधिकहरू, वातावरणविद्हरू लगेर अध्यय्न गराउनेदेखि वैकल्पिक उर्जा र जैविक मलका जानकारहरूसंग कैयौँपटक विषयकेन्द्रित छलफल भएका छन्।
करिब १६ वर्षअघि स्थायी प्रशोधन केन्द्र बनाउने योजना सुरु भएपनि विरोध मात्रै गरिरहने प्रवृत्तिका कारणले पूरा हुन नसकिरहेका बेलामा यी नगरले यसपटक भने प्रभावकारी र योजनाबद्ध कामको थालनी गरेका छन्। जनप्रतिनिधि निर्वाचित भएपछि आवधिक र दीर्घकालीन महत्वका योजना बनाएपछि फोहोर व्यवस्थापनको काम प्राथमिकतामा परेको हो।