काठमाडौं। पासाङ ल्हामु राजमार्गका स्थानीयवासीको अवरोधका कारण १० दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन कार्य सोमबारदेखि पुनः सुरु भएको छ। पासाङ ल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको ठेकेदारले काम सुरु गरेसँगै अवरोध हटेपछि फोहोर व्यवस्थापनमा सहज कार्य सुरु भएको हो।
अहिले फोहोर व्यवस्थापनका लागि समय निर्धारण गरिएको छ। राति १० बजेदेखि बिहान आठ बजेसम्म मात्र फोहोरको गाडी सिसडोल जान पाउने व्यवस्था गरिएको छ। अलिे फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङ ल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण यही चैत १८ गतेदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहका फोहोर व्यवस्थापन हुन सकेको थिएन।
दश दिनदेखि फोहोर विसर्जन हुन नसक्दा उपत्यकाको मुख्य चोकमा फोहोर थुप्रिएको छ। अठार स्थानीय तहको फोहोर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको बताइएको छ। फोहोर उठाउन सुरु भएतापनी सडकमा जताततै फोहोर भएकाले सबै फोहोर व्यवस्थापन गर्न समय लाग्ने कामपाले जनाएको छ।
हाल बञ्चरेडाँडामा दीर्घकालीन फोहोर व्यवस्थापन स्थल निर्माण भइरहेको र निर्धारित समयमा काम सम्पन्न नहुँदा समस्या उत्पन्न भएको बताइएको छ। उक्त स्थान भरिएकाले फोहोर व्यवस्थापनमा थप समस्या हुन थालेको हो। हाल फोहोर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहोर व्यवस्थापन स्थल निर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाको भनाइ छ।