काठमाडौं। सहरी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौती बनिरहेका बेला काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आधुनिक प्रविधिबाट फोहोर व्यवस्थापन गर्न सुरू गरेको छ। घर घरबाट निस्कने फोहोरलाई प्रदूषणरहित रुपमा व्यवस्थापन गर्न नगरपालिकाले जापानी प्रविधिको इन्सिनरेटर मेसिन जडान गरी सञ्चालनमा ल्याएको हो।
नगरपालिकाको आर्थिक सहयोग र हिटा हेभी मेसिनरी एन्ड रिसाइकल प्रालिको व्यवस्थापनमा घरघरबाट निस्कने फोहोरलाई धुँवारहित रूपमा जलाउने कार्य सुरू गरिएको गोकर्णेश्वर नगरपालिकाले जनाएको छ। यसरी फोहोर व्यवस्थापन गर्ने गोकर्णेश्वर नगरपालिका नेपालमै पहिलो नगरपालिका भएको नगरपालिकाले दाबी गरेको छ।
गोकर्णेश्वर नगरपालिका वडा नं. ६ को मा बस्तीरहित स्थानमा उक्त मेसिन राखिएको छ। नगरपालिकाले दुई वर्षअघि जापानबाट पाँच करोड रूपियाँको लागतमा उक्त मेसिन खरिद गरेको हो। जापानका हरेक सहरमा यस्तै प्रविधिबाट फोहोरको व्यवस्थापन गर्ने गरिएको पाइएकाले नेपालका लागि पनि यस्तो प्रविधि उपयुक्त हुने लागेर मेसिन ल्याइएको बताइएको छ।
यस प्रविधिमा घरहरूबाट निस्कने आगोमा बल्ने सबै प्रकारका फोहोरलाई एकीकृत गरी नगरपालिकाले प्रदान गरेको झोलामा फोहोर हाल्न लगाइन्छ। त्यस्ता फोहोरलाई नगरपालिकाको गाडीले घरघरमा पुगेर सङ्कलन गर्छ। गाडीले मेसिनसम्म पुर्याएको झोलासहितको फोहोरलाई मेसिनमा हालेर फोहोरलाई धुँवारहित रुपमा जलाउने गरिन्छ।