काठमाडौं। उपत्यकाका सडक, चोक र नदी किनारमा फोहोरको थुप्रो लाग्दा यहाँको सभ्यताको स्रोतका रूपमा स्थापित बागमतीलगायतका नदीमा सिधै फोहोर मिसिन थालेको छ। नदीमा सिधै फोहोर मिसिन थाले पनि वागमतीलगायतका काठमाडौँ उपत्यकाका नदी सफाइ अभियान भने जारी छ। सफाइ अभियानकर्मीले प्रत्येक हप्ता शनिबार बिहान स्वयंसेवा गर्दै सफाइ गर्छन्।
सात दिनसम्म राजधानीका विभिन्न स्थानमा थुप्रिएको फोहर भने नदीमा मिसिन्छ। नदी किनारमा हिँड्दा नाक थुनेर हिँड्नुपर्ने अवस्था छ। विगत १० वर्षदेखि सफाइ अभियान जारी रहे पनि नदी ढलमुक्त हुनसकेको छैन।
अभियानकर्मीले प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा नदीमा गएर सफाइ गरे पनि फोहर व्यवस्थापनमा स्थानीय सरकारले ठोस नीति निर्माण गरेका छैनन्। जसका कारण अन्य देशका नागरिकको समेत पहिलो आँखा जाने राजधानी सहर प्रदूषित र दुर्गन्धित बनेको छ। सरोकार निकायको भने यसतर्फ ध्यान जान सकेको छैन।
वाग्मती सफाइ महाअभियानको ४६६औँ हप्ता र तिलगङ्गा सफाइ अभियानको ३६६औँ हप्तामा शनिबार तिलगङ्गा पहेँलो पुलमा सफाइ गरेको छ। सफाइबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मीले बताएका छन्।
अर्को हप्ता ४६७औँ हप्ताको सफाइ सिनामङ्गल पुलको नदी किनारमा गरिने जनाइएको छ। विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ। जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन। महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ। हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ।
यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ। राजधानी बाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ। यसैगरी गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ। ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ।