काठमाडौं। काठमाडौं महानगरपालिकाले रूपमा फोहोर फाल्नेलाई कारबाही गर्ने भएको छ। पछिल्लो समय महानगरपालिकाले नै फोहोर संकलनमा ढिलाइ गर्दा उपत्यकाको सार्वजनिकस्थलमा फालिएको फोहोरका कारण दुर्घन्ध बढ्न थालेपछि महानगरपालिकाले नै जथाभावी रूपमा फोहोर फाल्न कडाइ गर्न लागेको हो।
महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्ट्याएर नफाले कारबाही अगाडि बढाउने तयारी गरेको छ। कुहिने फोहोरलाई मल बनाउन सकिने र कतिपय नकुहिने फोहोरलाई पनि रिसाइकल गर्न आह्वान गर्दै आएको छ। तर सर्वसाधारणले सबै फोहोर फाल्दा फोहोर बढी भएको र फोहोर फाल्ने स्थानको पनि समस्या हुन थालेको महानगरपालिकाले जनाएको छ।
सर्वसाधारणले नै अटेर गरेर कुहिने र नकुहिने सबै किसिमका फोहोर एकै स्थानमा फाल्दा पनि थप समस्या उत्पन्न भएको बताइएको छ। सडक निर्माणका क्रममा फोहोर जर्सिङपौवा लान समस्या भएकाले केही समय फोहोर उठाउन नसके पनि अब भने नियमित फोहोर संकलन गर्ने महानगरपालिकाले जनाएको छ।
फोहोरलाई स्रोतमै वर्गीकरण गरेर नराखे काठमाडौं महानगरपालिकाले त्यस्तो फोहोर नउठाउने र फोहोर एकै ठाउँमा थुपारे पाँच सय जरिवाना गर्ने बताइएको छ।