काठमाडौं। सुरक्षाकर्मी प्रयोग गरी हिजोबाट काठमाडौँ उपत्यकाको फोहोर उठाउन शुरु भएको छ। काठमाडौँ महानगरपालिकाको पहलमा तीन सय सुरक्षाकर्मी खटाएर फोहोर व्यवस्थापन गरिएको हो।
तारकेश्वर नगरपालिकाको मुड्खु–तीनपिप्ले सडकखण्डका बासिन्दाले सडक कालोपत्रे गर्न ढिलाइ भएको भन्दै काठमाडौं उपत्यकाबाट फोहोरको गाडी सिसडोल जान रोकेका थिए। त्यहाँका बासिन्दासँग सहमति हुन नसकेपछि फोहोर उठाउन सुरु गरिएको हो।
पासाङल्हामु राजमार्गअन्तर्गतका स्थानीय बासिन्दाले अवरोध गरेपछि १४ दिनदेखि काठमाडौँ उपत्यकामा फोहोर उठ्न सकेको थिएन।
पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमै काम पूरा नगरेको भन्दै स्थानीय बासिन्दाले त्यो ठाउँ हुँदै फोहोरको गाडी जान दिएका थिएनन्। ९ वर्षअघि शैलुङ कन्स्ट्रक्सनले ठेक्का लिएको नुवाकोट जाने पासाङल्हामु राजमार्ग सडक अहिलेसम्म बनाएको छैन।
काठमाडौँको १८ स्थानीय तहको फोहोर सडकमै थियो। पटकपटकको छलफलबाट स्थानीयसँग सहमति जुट्न नसकेपछि कामपाले गृह मन्त्रालयको सहयोगमा मुड्कुखोलादेखि तीनपिप्लेसम्मको सडकखण्डमा सुरक्षाकर्मी खटाएको हो। पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनः काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर उठाउन बन्द भएको थियो।
हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण सडकमै फोहर रोकिएको हो। फोहोर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा र लामो समयसम्म सडकमै फोहोर रहँदा समस्या शुरु भएकाले सुरक्षाकर्मी लगाएर भए पनि व्यवस्थापन गरिएको कामपाले जनाएको छ।
उपत्यकाबाट दैनिक एक हजार २ सय मेट्रिकटन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहोर निस्किने गर्दछ। निजी र कामपाका गरी दैनिक कम्तीमा २०० गाडी फोहोर सिसडोल फालिन्छ। उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ।