काठमाडौं। वाग्मती नदी किनारमा फोहोर फाल्ने लाई पाँच हजार जरिवानासहित कारबाही गरेको छ। काठमाडौं महानगरपालिका वातावरण विभागले जरिवानासहित कारबाही गरेको हो।
वाग्मती सफाइ महाभियानका अभियानकर्मीको पहलमा महानगरपालिकाले जरिवानास्वरुप कारबाही गरेको हो। गत शनिबार ४७१ औँ हप्ताको सफाइका क्रममा सिनामङ्गलस्थित वाग्मती पुलबाट ५०० मिटर दक्षिण वाग्मती नदी सफाइ अभियानको क्रममा केही घरधनी र पसलेले पैदल हिँड्ने बाटो छेकी सामग्री राखेको र फोहर फालेको भेटिएको अभियानकर्मीले बताएका छन्।
सडकमा राखिएका सामग्री पनि महानगरपालिकाको पहलमा हटाइएको छ। रामप्रसाद भुसालले घर अगाडि फोहर राखेको र ढलसमेत बाटोमा निष्कासन गरेकाले महानगरपालिकाले रु पाँच हजार जरिवाना गरेको हो। यसै हप्तादेखि महाभियानले सफाइको स्वरुप परिवर्तन गरी फोहर गर्नेलाई जरिवाना गराउन सरोकार भएका निकायलाई सहयोग गर्ने सार्वजनिक गरेको थियो।
महाभियानले नदी किनारमा सिसीटिभी राखी फोहर फाल्नेलाई कारबाहीको दायरमा ल्याउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलगायत सरोकार भएका निकायको पटकपटक ध्यानाकर्षण गराएको छ।