काठमाडौं। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ल्याण्डफिल साइट बन्चरेडाँडाका स्थानीयको माग सम्बोधन गर्ने बताएकी छन्।
बुधबार मन्त्रालयमा आयोजित सर्वपक्षीय छलफलमा मन्त्री झाँक्रीले उपत्यकाको फोहोर बन्चरेडाँडामा लैजान थालेसँगै साइट प्रभावित स्थानीयको जायज मागलाई नजरअन्दाज नगर्ने प्रतिबद्धता जनाएकी हुन्।
उनले छलफलमा बन्चरेडाडाँ ल्याण्डफिल साइट व्यवस्थित गर्न स्थानीयको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनीहरूका मागप्रति गम्भीर भएको बताइन्।
मन्त्री झाँक्रीले भनिन्, ‘बन्चरेडाडाँ ल्याण्डफिल साइट व्यवस्थापन हाम्रो साझा काम हो भनेर अघि बढौं । यो ल्याण्डफिल साइटले काठमाडौंको फोहोर व्यवस्थापनमा नयाँ मोड ल्याउनेछ। स्थानीयका जायज मागप्रति सरकारले नजरअन्दाज गर्दैन।’
छलफलका क्रममा धादिङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य भूमि त्रिपाठीले आयोजना प्रभावित क्षेत्रको प्राविधिक टोलीको अध्ययनअनुसार सरकारले जग्गा अधिग्रहण गर्नुपर्ने बताएका छन्। यस्तै सांसद हितबहादुर तामाङले बन्चरेडाडाँ ल्याण्डफिल साइटको फोहोर व्यवस्थापनमा देखिएका समस्या दीर्घकालीन समाधानका उपाय खोजेर अघि बढ्न सुझाव दिए। उनले यो समस्या बारम्बार दोहोरिन नदिन स्थानीय सरकारलाई समेत जवाफदेही बनाउनुपर्ने बताएका छन्।
धादिङको धुनीबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बन्चरेडाडाँ ल्याण्डफिल साइट व्यवस्थापन सबैको साझा दायित्वको विषय भएको बताउँदै यसका व्यवहारिक पक्षमा ध्यान दिन आवश्यक रहेको बताए। उनले साइटमा फालेको फोहोर उचित रूपमा व्यवस्थापन गर्नुपर्ने बताएका छन्।