काठमाण्डौं। खानेपानी मन्त्री उमाकान्त चौधरीले हिजो हेलम्बुमा रहेको मेलम्ची खानेपानीको मुख्य प्रवेशद्वार, अम्बाथानको निरीक्षण गरेका छन। वर्षाको समय सुरु हुनलागेको र विगतमा झैँ खानेपानीको संरचनामा क्षति नहोस् भनेर यसका लागि आफु विज्ञ, कर्मचारीसहित अनुगमनमा गएका हुन्।
उनका अनुसार मौसम पूर्वानुमान महाशाखा, विज्ञ, कर्मचारीको सल्लाहअनुसार जुनसुकै बेला मेलम्चीको सुरुङको पानी खोलामै पठाइ गेट बन्द गरिने छ। गेट नम्बर ३९, ९, १८ र अम्बाथान मुख्य अडिटमा हाइड्रोलिक गेट हालिने र यो भारतबाट केही दिनमै नेपाल आइपुग्ने उनले जानकारी दिए। उनले पानी पथान्तरण गर्ने गेट छेउको पहिरो नियन्त्रण गर्न र त्यसमाथि जोखिममा रहेका चार घर स्थानीय सरकारसँगको समन्वयमा सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए।
मन्त्री चौधरीले जल तथा मौसम पूर्वानुमान महाशाखा, विज्ञ, पानीको बहाव हेरेर तत्काल सुरुङको गेट बन्द गरी पानी खोलामा फर्काउन निर्देशन दिँदै अहिले सुरक्षा गेरेर बचाउन सके मनसुन सकिने बित्तिकै मेलम्चीको पानी फेरि काठमाडौँ लैजान सकिने बताए।
उनले मेलम्चीका ठेकदार र कन्ट्याकटरको भुक्तानी लगायत जायज माग पूरा गर्न आफू तयार रहेको बताए। मेलम्चीको विकल्पमा वाग्मती नदीबाट दैनिक पाँच करोड लिटर पानी थप गर्न बोलपत्र आह्वान भइसकेको र त्यस्तै पाँच करोड लिटर भूमिगत पानीको व्यवस्था गरी राजधानीवासीलाई अभाव हुन नदिने सरकारको योजना रहेको उनले बताए।