काठमाडौं। नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना कार्यालय पर्वतले निर्माण कम्पनीसँग स्पष्टीकरण मागेको छ। आयोजनाले लामो समयसम्म काम नगर्ने निर्माण कम्पनीसँग स्पष्टीकरण मागेको हो।
मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले निर्माण व्यवसायीका नाममा आज एक सूचना प्रकाशित गर्र्दै सात दिनभित्र कार्यालयमा आई लिखित स्पष्टीकरण पेश गर्न भनेको छ। मध्यपहाडी राजमार्गमा काम सन्तोषजनक नभएपछि निर्माणको जिम्मा पाएको स्वच्छन्द–शङ्करमाली जेभीलाई स्पष्टीकरण सोधेको हो। हटिया–बुर्तिवाङ खण्ड निर्माणको प्रगति सन्तोषजनक नभएको भन्दै आयोजनाले सात दिनभित्र स्पष्टीकरण बुझाउन भनेको हो।
कालोपत्र भएको सडकसमेत खाल्डा परेको, फिनिसिङ नगरेको र सम्झौताअनुसारको पूर्वाधार नबनाएको तथा पटक–पटक आयोजनाको निर्देशनलाई अटेरी गरेकाले स्पष्टकीकरण सोधेको मध्यपहाडी राजमार्ग आयोजनाले जनाएको छ।
सात दिनभित्र निर्माण कम्पनी कार्यालयमा आएर उचित जवाफ नदिए प्रचलित कानुन एवं ठेक्का सम्झौताका शर्तबमोजिम कारबाही प्रक्रिया अघि बढाउने आयोजनाले चेतावनीसमेत दिएको छ। ठेक्काअन्तर्गत सडक मर्मत तथा निर्माणको काम सन्तोषजनक नभएपछि र लामो समय व्यतित हुँदा पनि कार्य प्रगति सुधार नभएपछि आयोजनाले स्वच्छन्द–शङ्करमाली जेभीलाई पटक–पटक मौखिक तथा लिखित निर्देशन दिएको थियो। यो सूचना प्रकाशित भएको मितिले सात दिन भित्रमा आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन आयोजनाले निर्देशन दिएको छ। अन्यथा कारबाहीको प्रक्रिया अघि बढाईने कार्यालयले जनाएको छ।
