काठमाण्डौं। वन्यजन्तुको उपभोगका लागि गोरखाका सामुदायिक वनमा पोखरी निर्माण गरिएका छन्। डिभिजन वन कार्यालयले जिल्लाभित्रका सामुदायिक वनमा ‘एक सामुदायिक वन, एक संरक्षण पोखरी’ कार्यक्रम अन्तर्गत हालसम्म १५ पोखरी निर्माण गरेको छ।
पोखरी निर्माणका लागि छनोटमा परेका प्रत्येक सामुदायिक वनलाई कार्यालयले एक लाख उपलब्ध गराउँदै आएको बताईएको छ। कार्यालयले उपलब्ध गराएको रकमबाहेक थप २० प्रतिशत रकम उपभोक्ताको साझेदारीमा लगानी हुन्छ, उपभोक्ता र कार्यालयको साझेदारीमा सामुदायिक वनमा पोखरी निर्माण गरिँदै आएको छ। वन कार्यालयले सकेसम्म सामुदायिक वनमा नजिकै पानीको मुहान भएको ठाउँमा पोखरी निर्माण गर्ने गरेको छ।
जङ्गलमा पोखरी निर्माण गर्दा डढेलो लागेमा त्यसलाई निभाउन पनि सहज हुनेछ। कार्यालयले निर्माण गर्दै आएको पोखरी करिब १३ मिटर लम्बाइ ६ मिटर चौडाइ र झण्डै एक मिटर गहिराइको रहेको छ। कार्यालयले आर्थिक वर्ष २०७५/७६ देखि गोरखाका सामुदायिक वनमा ‘एक सामुदायिक वन, एक–एक पोखरी’ कार्यक्रम अन्तर्गत पोखरी निर्माण गर्दैै आएको हो।