काठमाडौं। म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोला र ८ कुइनेमङ्गलेका दुर्गम बस्तीमा नेपाल टेलिकमको सेवा विस्तार गरिएको छ। सेवा विस्तारपछि मोबाइल फोनका लागि अग्ला डाँडा र रुखमा चढ्नुपर्ने बाध्यता हटेको छ।
रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको पुस्तिबाङ डाँडामा अस्थायीरूपमा विद्युतको पोलमा बिटियस जडान गरेर सेवा सञ्चालन गरिएको नेपाल टेलिकम म्याग्दीले जनाएको छ।
समुन्द्री सतहदेखि २ हजार ६ सय मिटर उचाइमा रहेको पुस्तिबाङ डाँडामा टेलिकमको २५ मिटर अग्लो टावर निर्माण गर्ने योजना छ। तत्कालका लागि टुजी र थ्रिजीमार्फत भ्वाइस र डाटा एकसाथ सञ्चालनमा आएको र पक्की टावर निर्माण भएपछि अत्याधुनिक प्रविधिको चौथो पुस्ताको फोरजी मोबाइल सेवा सञ्चालनमा आउने रघुगङ्गा गाउँपालिकाले जनाएको छ।
टावर बनेपछि चिमखोलाको जस्लाबाङ, पात्लेखेत, गौडामुनी, नगलडाँडा, कुइनेमङ्गलेको मङ्गलेखानी, घ्यासीखर्क, दुवाडी, ढाँड, पात्लेखर्क, चौरखानीलगायतका दुर्गम बस्तीमा मोबाइल फोनको सहज पहुँच पुगेको छ।