काठमाडौं। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१९ तीनताप्केमा वात भत्किएको छ। निर्माण सम्पन्न भएको ५ महिना नहुँदै नालाको वाल भत्किएको हो।
शनिबार दिउँसो करिब ४० मिटर लामो वाल भत्किएर नालीनै पुरिएको छ। सोही स्थानमा निर्मित वालको अन्य भाग समेत भत्किन सुरु भएको बताईएको छ।
उक्त वाल निर्माणको काम पाँच महिना अगाडी मञ्जुश्री कन्स्ट्रक्सनले सम्पन्न गरेको थियो। सडक डिभिजन कार्यालय हेटौंडाको करिब ८५ लाख रुपैयाँको ठेक्कामा सडकको नाली बचाउन वाल निर्माणको काम भएको बताईएको छ। वाल भत्किएपछि जम्मा भएका स्थानीय सर्वसाधारणले हातले छुँदा समेत भत्किएपछि ठेकेदारले लापरबाही गरेको भन्दै आक्रोशित भएका थिए।
सिमेन्टले जोडिएको वाल यसरी हातले छुँदैमा भत्किने हुन्छ भन्दै स्थानीयले प्रश्न गरेका छन्। कमसल काम गरेर राज्यको सम्पती दुरुपयोग गर्ने ठेकेदार कम्पनीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने स्थानीयले माग गरेका छन्। यस विषयमा प्रतिक्रिया लिँदा सडक डिभिजन कार्यालय हेटौंडाले भत्किएको भए मर्मत सम्भार हुने बताएको छ।।