काठमाडौं। धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नम्बर ६ मा स्थापना भएको औद्योगिक ग्राम प्रयोगविहिन भएको छ। १५ करोड लागतमा निर्माण भएको औद्योगिक ग्राम प्रयोगविहिन भएको हो।
संरचना निर्माण गरिएको चार वर्ष बित्दासमेत ग्राम सञ्चालनमा आउन सकेको छैन। नेपालमै पहिलो पटक धनकुटामा औद्योगिक ग्राम निर्माण भए पनि दुई वर्षसम्म सञ्चालन कार्यबिधि अभावका कारण रोकिएको जनाएको छ। तर अहिले कार्यबिधि बने पनि यो सञ्चालनमा आउन सकेको छैन।
औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यले धनकुटाको अमलेटारमा २०३९ सालमा ५८ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। तर लामो समय सम्म कुनैपनी उद्योग स्थापना नभएपछि अन्ततः औद्योगिक व्यवस्थापन लिमिटेडको स्वामित्वमा रहेको जग्गा औद्योगिक ग्रामको नाममा ल्याएर औद्योगिक ग्राम स्थापनाको भएको थियो। पहिलो चरणमा सुर्खेत र धनकुटामा औद्योगिक ग्राम स्थापनाको तयारी गरिए पनि धनकुटामा भने पहिलो चरणको भवन निर्माण भइसकेको छ।
करिब एक वर्ष पहिलेनै पहिलो चरणको संरचना निर्माण भइसकेका छन्। कोभिड लगायत बिभिन्न समस्याले ग्राम सञ्चालनमा आउन नसकेको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले जनाएको छ। अहिलेसम्म २५ वटा ब्लक निर्माण पूरा गरी यही आर्थिक वर्ष भित्र सञ्चालन गर्ने गरि टेन्डर आह्वान गरिए पनि १५ वटा साना तथा घरेलु उद्योगीले मात्र टेण्डर दिएकोमा उनीहरु समेत सम्झौताको लागि नआएको हो।
करिब १५ करोड रुपियाँको लागतमा निर्माण गरिसकिएको करिब दुइ दर्जन ब्लक प्रयोग बिहीन छन्।