काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं फोहोर थेग्न सक्ने अवस्थामा नरहेको बताएका छन्। शुक्रवार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरेडाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा महामन्त्री थापाले यस्तो बताएका हुन्।
उनले काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर विसर्जन हुन नसक्दा जनस्वास्थ्यमा असर पर्न थालिसकेको बताए। उनले विगतमा गरिएका गल्ती नदोहोर्याउने प्रतिवद्धता गर्दै स्थानीयहरुले अहिलेको सरकारसँग र समस्या समाधान गर्न बनेको संयन्त्रसँग विश्वास गर्न आग्रह गरे।
महामन्त्री थापाले जग्गा अधिग्रहण गर्ने सबैभन्दा महत्वपूर्ण भएकोले प्रधानमन्त्रीलाई यसबारेमा सबैले अनुरोध गर्नुपर्ने बताए। उनले अहिले सरकारसँग भएको पैसाबाट नै ल्याण्डफिल्ड साइटको जग्गा अधिग्रहणको मुआब्जा वितरण गर्न सकिने स्पष्ट पारे।
उनले भने, ‘यो जग्गा अधिग्रहणको सम्बन्धमा बजेट छुट्याउने कुरा सबैभन्दा महत्वपूर्ण हो । सम्माननीय प्रधानमन्त्रीज्यूलाई हाम्रोतर्फबाट आग्रह गरेर गर्न सकिन्छ । नेपाल सरकारसँग भएकै पैसाबाट मजाले काम गर्न सकिन्छ । बजेट छुट्याउँदै गर्दा हामीले ल्याण्डफिल्ड साइटको जग्गा अधिग्रहणको लागि भनेर छुट्याऔँ । १७० पटक सम्झौता भएको छ, तपाईहरुलाई हामी देख्नासाथ रिस उठ्छ पनि होला । यो हामीबाट नै भएको गल्ती हो । तर म एकपटक सबैलाई अब सहमति गर्नु नपर्ने गरीकन काम गरौँ । अनुगमन समिति बनाएर काम गर्छौं । हामीलाई विश्वास गर्नुहोस् । तर काठमाडौं अब फोहोर थेग्ने अवस्थामा छैन । जनस्वास्थ्यको हिसावले पनि अत्यन्त बिजोक भएको अवस्था छ । अब हामी त्यो गल्ती दोहोर्याउँदैनौँ ।’
महामन्त्री थापाले काठमाडौंमा यो वर्ष बनाउने भनेका पूर्वाधार संरचनाहरु रोकेर भएपनि फोहोर व्यवस्थापन गर्न लाग्नुपर्ने दोहोर्याए।