जनकपुरधाम। मधेश प्रदेश सरकारले पशु बीमा र कृषि सडकका लागि २८ करोड २० लाख बजेट विनियोजन गरेको छ। बुधबार आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दै मधेश प्रदेशले पशु बीमा र कृषि सडकका लागि २८ करोड २० लाख रकम विनियोजन गरेको हो।
मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ।
सरकारले विनियोजन गरेको कुल बजेटमध्ये चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार अर्थात ४६ दशमलव ४४ प्रतिशत र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात ५३ दशमलव २१ प्रतिशत बजेट छ।
वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार दुई सय, आन्तरिक राजस्वबाट चार अर्ब १८ करोड ९३ लाख ७५ हजार, कोषमा रहेको सञ्चितितर्फ ३८ करोड रहेको जनाइएको छ। नेपाल सरकारबाट राजस्व बाँडफाडबापत ११ अर्ब ६१ करोड ९८ लाख, समानीकरण अनुदानबापत सात अर्ब ८१ करोड ५८ लाख र चालु वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात ९ अर्ब ६६ करोड रहेको जनाइएको छ।
बजेटमा आर्थिक वर्ष २०७९/८० मा कृषि क्षेत्रको विकासका लागि प्रादेशिक कृषि गुरु योजना तयार पार्न ५० लाख र यस क्षेत्रलाई व्यावसायीकरण, यान्त्रिकीकरण गर्न १७ करोड ८२ लाख रुपैयाँ छुट्ट्याइएको छ। त्यसैगरी कृषि ज्ञान केन्द्रलाई ७ करोड २८ लाख बजेट छुट्ट्याइएको छ।
सर्सत र समपूरक अनुदानका लागि तीन अर्ब ८७ करोड विनियोजन गरिएको छ। यो अनुदान स्थानीय तहहरूलाई दिइनेछ।